चरिकोट, ६ मंसिर
दोलखाको भीमेश्वर नगरपालिकाले विद्यालय सञ्चालनका लागी तयारी सुरु गरेको छ । कोभिड १९ कोरोना भाइरसका कारण चैत्र देखी बन्द रहेका विद्यालय सञ्चालनका लागी भीमेश्वर नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका विद्यालयका प्रधानध्यापक सँग राय माग गरेकोे छ । प्रधानध्यापकहरु सँग सोमबार बैठक आयोजना गरिएको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले जानकारी दिनुभयो ।
त्यसैगरि जिल्लाभरका विद्यालय सञ्चालनका लागी आइतबार दोलखाको २ नगरपालिका सहित ७ गाउँपालिकाका प्रमुख/अध्यक्ष सँग दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले छलफल गर्दै हुनुहुन्छ । उक्त बैठकबाट हुने निणर्य र प्रधानध्यापकहरु सँगको बैठकबाट हुने निणर्यका आधारमा विद्यालय पुन सञ्चालन गर्ने मिति तोकिने छ । सम्भवत सोमबार भीमेश्वर नगरपालिका क्षेत्रका विद्यालय सञ्चालन गर्ने मिति तोकिनेछ ।
सरकारले स्थानीय तहलाई विद्यालय सञ्चालनको जिम्मा दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परिमार्जनसहित ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ ल्याएर स्थानीय तहलाई विद्यालय खोल्ने जिम्मा दिएको हो । विद्यालय पुनः सञ्चालन गर्दा स्थानीय तहभित्र संक्रमणको जोखिम नभएको वा सबैभन्दा न्यून रहेको क्षेत्रमा अवस्थित विद्यालयबाट सुरु गर्ने गरी व्यवस्था गर्न सकिने कार्यढाँचामा उल्लेख छ ।
स्थानीय तहको निर्देशनबमोजिम विद्यालयले सञ्चालनको समय, मितिसहित स्थानीय भाषामा समेत सूचना प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ । क्वारेन्टाइन र आइसोलेसन सेन्टरका रूपमा प्रयोग भएका विद्यालयलाई हटाएर निर्मलीकरण गर्नुपर्नेछ । हरेक विद्यालयले आवश्यकताअनुसार स्वास्थ्यकर्मीसहित हेल्थ डेक्स निर्माण गरी विद्यालयका विद्यार्थी तथा शिक्षकको नियमित स्वास्थ्य परीक्षण तथा परामर्श लिनुपर्नेछ । गत कात्तिक २० गतेको मन्त्रीस्तरीय निणर्यबाट कार्यढाँचा स्वीकृत गरेको हो । कार्यढाँचाअनुसार चैतमा स्थगित कक्षा १२ को परीक्षा यही मंसिर ९ गतेबाट सञ्चालन हुनेछ ।
प्रकाशित मिति:
शनिबार, मंसिर ६, २०७७, ०७:५५:००