चरिकोट, १५ मंसिर
दोलखाका ६ वटा स्थानीय तहमा ५ देखि १५ शैयासम्मको अस्पताल निर्माणको लागि आज शिलान्यास गरिएको छ । सरकारले मंसिर १५ गते देशभरका तीन सय ९६ वटा स्थानीय तहमा अस्पताल निर्माणका लागि शिलान्यास गरे सँगै दोलखामा पनि ६ वटा स्थानीय तहमा अस्पताल निर्माणका लाग शिलान्यास भएको छ ।
सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ शैयाका अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको हो । सोही अनुसार दोलखाको भीमेश्वर नगरपालिकामा १५ शैयाको अस्पताल आज बागमती प्रदेश सांसद पशुपति चौलागाईले शिलान्यास गर्नु भयो । उक्त अस्पतालको कुल लागत ३ करोड ३० लाख २० हजारको रहेको छ । तामाकोशी गाउँपालिकाको मालु स्वास्थ्य चौकीमा १० शैयाको अस्पताल शिलान्यास भएको छ । कुल ८५ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको हो ।
त्यसै गरी वैतेश्वर गाउँपालिकाको वडा नम्बर ५ मा रहेको वैतेश्वर अस्पतालमा १५ शैयाको कुल १ करोडमा निर्माण हुन लागेको छ । मेलुङ गाउँपालिकाको भेड्पू स्वास्थ्य चौकीमा ५ शैया र शैलुङ गाउँपालिकाको बाघखोर स्वास्थ्य चौकीमा ५ शैयाको अस्पताल कुल ७०÷७० लाख लागतमा निर्माण गर्न शिलान्यास भएको छ ।
दोलखाको गौरीशंकर गाउँपालिकामा शिलान्यास हुन लागेको अस्पताल भने नेपाली कांग्रेसद्धारा विरोध भए पछि रोकिएको छ । देशभर एकैसाथ तीन सय ९६ वटा अस्पतालको शिलान्यास भएको हो । बसमारोहमा गौरीशंकर गाउँपालिकामा जनप्रतिनिधि र नेपाली कांग्रेस गाउँ समितिले विरोध जनाएको हो । गौरीशंकर गाउँपालिका वडा नं. ५ मा प्राथमिक स्वास्थ्य केन्द्र हुँदाहुँदै थप अस्पताल आवश्यक नरहेको भन्दै प्रेस विज्ञप्ती जारी गर्दै भवन शिलान्यासको विरोध जनाएको कांग्रेस गाउँ समितिले बताएको छ ।
प्रकाशित मिति:
सोमबार, मंसिर १५, २०७७, १२:२५:००