चरिकोट, १८ मंसिर
दोलखाको प्रशिद्ध भीमेश्वर मन्दिरमा यहि २७ गते क्षमापुजा गरिने भएको छ । मन्दिरमा क्षमापुजाका लागी बिहान ठीक ७ : ३० बजेको साइत जुरेको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ । बिहान ७ : ३० बजे होम यज्ञको शुभारम्भ गर्ने, बिहान ९ बजे ११ आवृत्ती रुद्रि पूजा शुभारम्भ गर्ने, दिनको १२ बजे बलिपूजा गर्ने र अपरान्ह ४ बजे प्रसाद ग्रहण कार्यक्रम रहेको समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो ।
भीमेश्वर मन्दिरको भीमसेन शिलामा मंसीर ९ गते दिउँसो १ बजेर ४३ मिनेटबाट आएको पसिना दिउँसो ३ बजेर ५३ मिनेट जाँदा रोकिएको थियो । भीमसेनलाई पसिना आएमा राष्ट्रपतिले क्षमा पूजा गर्नुपर्ने चलन अनुसार क्षमापूजाका लागि पसिना पुछेको कपास महाप्रसाद दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीको नेतृत्वमा काठमाडौँ स्थित राष्ट्रपति कार्यालय पु¥याइएको थियो ।
यसअघि फागुन ८ गते बिहान ६ः४५ बजेबाट मन्दिरको शिलामा आएको पसिना बिहान ८ः२५ बजे रोकिएको थियो । भीमेश्वरको (शिला) को विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ ।
सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्छन् ।
यसैबिच कोरोना भाइरसका कारण सर्वसाधारण भक्तजनका लागी बन्द रहेको भीमेश्वर मन्दिरको मुल गेट खुल्ला गरिने भएको छ । मंसीर २९ गतेबाट स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै मुल ढोकाबाट पुजा गर्ने व्यवस्था मिलाइने भएको हो ।
प्रकाशित मिति:
बिहिबार, मंसिर १८, २०७७, ०८:१७:००