चरिकोट, १३ पुस
वैदेशिक रोजगारबाट घर फर्केका महिलाहरुलाई उत्पादनशिल कार्यमा लगाउनु पर्ने सरोरकावालाहरुले जोड दिएका छन् । वैदेशिक रोजगारीको क्रममा सिकेका ज्ञान, सीपलाई व्यवहारमा उतार्न सक्नु प्रमुख भूमिका स्थानीय सरकारको पनि सरोकारवालाको दावी रहेको छ ।
काममा स्वतन्त्रता परियोजना अन्तरगत पौरखी नेपालले आज सदरमुकाम चरिकोटमा आयोजना गरेको वार्षिक कार्यक्रम समीक्षा तथा योजना बैठकमा जिल्ला समन्वय समिति दोलखा प्रमुख डबल पाण्डेले वैदेशिक रोजगारीको क्रममा सिकेका ज्ञान, सीपलाई व्यवहारमा उतार्नु पर्ने बताउनु भयो । योजना बैठकमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख पाण्डेले कोभिड १९ पछि वैदेसिक रोजगारीमा गएका अधिकांश महिलाहरु घर फर्केका हुनाले उनीहरुलाई स्वदेशमै आयमूलक र स्वरोजगारमूलक कार्यमा लगाउन सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।
स्थानीय सरकारसँग समन्वय गरी संघसंस्थाहरुले तालिम, गोष्ठी भन्दा पनि सीप र मागको आधारमा आयमूलक र उत्पादनशील कार्यमा जोड दिनुपर्ने सहभागी जनप्रतिनिधिहरु र सरोकारवालाको आग्रह थियो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत र नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पौरखी नेपालले दोलखाको भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, कालिञ्चोक गाउँपालिका र विगु गाउँपालिकाका ८ वटा वडामा कार्यक्षेत्र बनाएको छ । पौरखीको कार्यक्षेत्रमा वैदेसिक रोजगारबाट घर फर्केका महिलाहरुलाई जीविकोपार्जन र आत्मनिर्भर सम्बन्धि तालिम प्रदान गर्दै आएको कार्यक्रम संयोजक प्रदिप कुमार कार्कीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय दोलखामा पासपोर्ट बनाउन आएका महिलाहरुलाई वैदेसिक रोजगारमा जाँदा आईपर्ने समस्या र ध्यान दिनुपर्ने विषयलगायत विवरण संकलन र परामर्शको लागि हेल्प डेक्सको व्यवस्था गरेको छ ।
प्रकाशित मिति:
सोमबार, पुस १३, २०७७, १६:३५:००