पुस २९, चरिकोट
गएको माघेसंक्रान्तिमा दोलखामा तरुल प्रति केजी एक सय ८० देखी २ सय रुपैयाँ सम्म विक्री भयो । तरुलको भाउ महंगै भएपनि कारोबार बढेको थियो ।
यस वर्षको माघेसंक्रान्तिमा तरुलको भाउ घटेर एक सय देखी १ सय २० रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ । तर पनि गत वर्षको जस्तो व्यापार नभएको सदरमुकाम चरिकोटका व्यवसायी बताउँछन् ।
माघे सङ्क्रान्ति नजिकिएसँगै बजारमा काठमाण्डौ, तराइका र स्थानीयस्तरमा पाइने तरुल विक्रीका लागी राखीएका छन् । यो साताको सुरुवाती अर्थात आइतबारबाट तरुलको कारोबार बढेको दोलखाका फलफूल तथा तरकारी व्यवसायी तथा किसानहरु बताउँछन् ।
माघेसंक्रान्ति नजिकिएसँगै दोलखाको सदरमुकाम चरिकोट स्थित सातदोबाटो चोक र कृषि बजारबाट पिडालु प्रतिकेजी ९०, स्कुसका जरा १ सय ४०, सिमल तरुल प्रतिकेजी १ सय रुपैयाँ र बनतरुल प्रतिकेजी २ सय ५० रुपैयाँमा विक्री भइरहेको छ ।
कोरोनाका कारण यस वर्ष तरुलको भाउ घटेपनि गत वर्षको जस्तो व्यापार नभएको विगत १३ वर्षदेखि जिल्ला सदरमुकाम चरिकोटमा व्यापार गर्दै आउनुभएका राम बहादुर श्रेष्ठले बताउनुभयो ।
गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत नै तरुलको भाउ घटेको भीमेश्वर नगरपालिका वडा नम्बर ३ चरिघ्याङकी सपना तामाङ बताउनुहून्छ । माघे सङ्क्रान्तिका दिन जाडोमा न्यानो प्रदान गर्ने खालका तातो परिकार तरुल, घ्यु, चाकु आलि खानेकुरा खाने गरिन्छ ।
प्रकाशित मिति:
बुधबार, पुस २९, २०७७, १८:४८:००