चरिकोट, ७ फागुन
पाँचौ निर्वाचन दिवसको अवसरमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम विहिबार दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय दोलखाकी प्रमुख निर्वाचन अधिकारी गोमा धमला घिमीरेले निर्वाचन आचारसंहिताका विषयमा जानकारी गराउनु भएको थियो ।
निर्वाचन अधिकारी धमलाले दोलखामा ९४ मतदान स्थल र १ सय ९२ मतदान केन्द्र तथा जिल्लामा कुल १ लाख ५५ हजार ४ सय १ जना मतदाता रहेको जानकारी दिनु भयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बैशाख १७ र २७ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकि सकिएकाले निर्वाचन आचारसंहिताको पुर्ण पालना गर्दै तयारी गर्नुपर्ने बताउनुभएको थियो ।
जिल्ला निर्वाचन कार्यालय दोलखाको आयोजनामा भएको कार्यक्रम दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख तथा अध्यक्ष, सरकारी कार्यालयका प्रमुख प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
प्रकाशित मिति:
शुक्रबार, फागुन ७, २०७७, १०:१३:००