चरिकोट, ०२ चैत्र
बजार अनुगमनको क्रममा अधिकांश पषलमा म्याद नाघेको सामान बिक्री वितरण हुने पाएकाले उपभोक्ताहरु आफै सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । दोलखाको विभिन्न बजारमा अनुगमन गर्दा खाद्यन्न वस्तुमा बढी लापार्वाही गरेका पाइएको छ ।
दैनिक उपभोग्यवस्तुहरु खाने तेल, तरकारी, चामल, पेय पदार्थ र फलफुललगायतमा म्याद नाघेका र कम तौलका वस्तु बिक्री वितरण गर्ने पाईएकाले उपभोक्ताहरु चनाखो हुनुपर्ने दोलखाका अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीले बताउनु भयो ।
प्लाष्टिक निरुत्साहन, वातावरण संरक्षणमा योगदानको साथै “उपभोक्ताको मौलिक हक कार्यान्वयनमा हाम्रो चासो, तिनै तहमा उपभोक्ता संरक्षण नीति तर्जुमाको खाँचो” भन्ने नाराका साथ भीमेश्वर नगरपालिकाले जिल्लामा देखिएका कमिकमजोरीको विषयमा समीक्षा गरेका थिए । विश्व उपभोक्ता अधिकार दिवस २०२१ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा दोलखा भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले उपभोक्ताहरु आफै सचेत नभएसम्म सुधार नआउने बताउनु भयो । विशेष गरी दोलखाको उत्तरी क्षेत्रमा बढी मात्रमा म्याद नाघेका र नामै नसुनेका पेय पदार्थ र दैनिक उपभोग्यवस्तु बिक्री तिवरण गर्ने पाईएको बताउनु भयो ।
अनुगमन समितिमार्फत छिट्टैनै बजार अनुगमन गरी उपभोक्ताहरुलाई ताजा र गुणस्तर सामानको लागि भीमेश्वर नगरपालिका प्रतिवद्ध रहेको नगर प्रमुखले जानकारी दिनु भयो । भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारी, प्रहरी नायव उपरीक्षक भेषराज रिजाल, उपभोक्ता मञ्च दोलखाका अध्यक्ष कुमार लगुन, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रकाशित मिति:
सोमबार, चैत २, २०७७, ११:४६:००