चरिकोट, १३ चैत्र
प्राकृतिक प्रकोप वा आपत विपद्को बेला खोज तथा उद्धार कार्यलाई सहज र प्रभावकारी बनाउने उद्धेश्यका साथ आयोजित समुदायमा आधारित खोज तथा उद्धार तालिम भीमेश्वर नगरपालिकाको वडा नम्बर ६ मा आज सम्पन्न भएको छ ।
शहरी क्षेत्रमा हुने भूकम्प, आगलागी लगायतका विपद्का बेला तत्काल खोज तथा उद्धार कार्यका लागि समुदाय स्तरमै खोज तथा उद्धारकर्मी तयार गर्न भीमेश्वर नगरपालिकाले युरोपेली युनियनको मानवीय सहायता विभागको आर्थिक सहयोगमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) नेपालको प्राविधिक सहयोगमा हुराडेक नेपाल दोलखाले सञ्चालन गर्दै आएको बहुप्रकोपीय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि कार्यक्रमको समन्वयमा तालिम आयोजना भएको हो ।

तालिममा नगरपालिकाको वडा नम्बर ६ का स्थानीय समुदायका साथै नेपाली सेना र सशस्त्र प्रहरी वलका जवान गरी तालिममा ३० जनाको सहभागिता रहेको थियो । तिन दिन सम्म सञ्चालन गरिएको तालिममा भूकम्प, आगलागीका बेला अग्गा शहरी क्षेत्रका भवन तर घना वस्तीमा गरिने खोज तथा उद्धारका लागि आवश्यक पर्ने सिप तथा प्रविधिको प्रयोग गर्ने बारे अभ्यास सहित प्रशिक्षण गरिएको हुराडेक नेपालका परियोजना संयोजक राजेश भट्टराईले जानकारी दिनु भयो ।
तालिममा डोरी लगायत अन्य उपकरणका माध्यमबाट गरिने खोज तथा उद्धारका तरिकाबारे जानकारी तथा अभ्यास समेत गराईएको तालिमका प्रशिक्षक लक्ष्मण मालीले जानकारी दिनु भयो ।
तालिमका सहभागीहरुलाई भीमेश्वर नगरपालिकाका उप प्रमुख कमला बस्नेत र भीमेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नविन लामाले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
प्रकाशित मिति:
शुक्रबार, चैत १३, २०७७, १९:५५:००